काठमाडौँ । जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग देखिएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै ग्ल्यामर क्षेत्रका थुप्रै कलाकारहरूले राजनीतिमा आफ्नो सक्रियता देखाउन थालेका छन् । अभिनेत्री तथा रियालटी शो होस्ट रिमा विश्वकर्मा, अभिनेत्री निशा अधिकारी राजनीतिक दलमार्फत सक्रिय राजनीतिमा प्रवेश गरिसकेका छन् ।
रिमा ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’को केन्द्रीय सदस्य नै बनेकी छन् । रियालटी शोमा व्यस्त रहेकी उनी अब ‘फुलटाइमर’ राजनीतिमा हुनेछिन् ।
अर्की अभिनेत्री निशा अधिकारी पनि वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीबाट राजनीतिमा सक्रिय भइरहेकी छन् । पार्टीले उनलाई महिला विभाग प्रमुखको जिम्मेवारीसमेत दिएको छ । गतिशील लोकतान्त्रिक पार्टीमार्फत सक्रिय राजनीतिमा लाग्ने र महिलालाई राजनीतिमा समान अवसर र निर्णायक भूमिका सुनिश्चित गर्न निरन्तर प्रयास गर्ने उनले बताउँदै आएकी छन् । निर्णायक पदहरूमा महिलाको उपस्थिति अत्यन्त न्यून रहेकाले आफू राजनीतिमा होमिएको उनको तर्क छ ।
जेनजी आन्दोलनमा सक्रिय देखिएका कलाकार, निर्देशक निश्चल बस्नेत, अर्जुन घिमिरे ‘पाँडे’, अभिनेता तथा रियालटी शो होस्ट आसिफ शाह, विशाल भण्डारी पनि राजनीतिमा सक्रिय देखिन थालेका छन् । यी सबै कलाकार बालेन शाह र रवि लामिछानेबिच एकता छलफलमा देखिएका थिए । बालेन र रविबिच सहमतिका लागि भएको केही दिनको वार्तामा यी कलाकार सुरुदेखि नै सक्रिय थिए । बोलेन र रविको सहमतिमा यी कलाकारको भूमिका र सक्रियता पनि महत्त्वपूर्ण नै रह्यो । निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ अहिले प्रदर्शनरत छ । यद्यपि ‘पाँडे’ आफ्नो फिल्मको प्रचारप्रसार छाडेर बालेन–रविको एकता वार्तामा देखिएका थिए ।
अभिनेता तथा रियालटी शो होस्ट आसिफ शाह रास्वपाका पूर्वसांसद असीम शाहका दाजु हुन् । सभापति रविले असीमअघि आफिसलाई सक्रिय राजनीतिका लागि अवसर दिएका थिए । आसिफले आफ्नो ठाउँमा भाइ असीमलाई पठाएका थिए, असीम रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।
हुन त यसअघि अभिनेत्री रेखा थापा, करिश्मा मानन्धरलगायत थुप्रै कलाकार राजनीतिमा आइसकेका छन् । तर उनीहरूको राजनीति करिअर टिकाउ भने देखिएन । गायिका कोमल वली बरु नेकपा एमालेको राजनीतिमा सक्रिय छिन् ।
राजनीतिमा नवप्रवेशी कलाकारहरूको लर्को हेर्दा यसअघिका अग्रजहरूको असफलतालाई कसरी चिर्न सक्छन् रु प्रश्न उठ्न सक्छ । यद्यपि यी कलाकाहरूले जेनजी आन्दोलनलाई भने खुलेर समर्थन गरेका थिए । र युवामाझ उनीहरूले छवि पनि बनाएका छन् । सामाजिक सञ्जालमा उनीहरूले दिने गरेका प्रतिक्रिया र विचारले पनि राजनीति प्रवेशमा उनीहरूलाई सहज बनाएको छ ।
पछिल्लो समय कलाकारहरूको यो राजनीतिक मोहलाई लामो समयदेखि राजनीतिमा सक्रय गायिका कोमल वली सकारात्मक मान्छिन्, तर देखिएजस्तो सजिलो नभएको उनको अनुभव छ । कलाकार राजनीतिमा आउँदा राजनीतिक पृष्ठभूमि भएका व्यक्तिले भन्दा धेरै गुणा बढी चुनौतीको सामना गर्नुपर्ने उनी बताउँछिन् ।
वलीका अनुसार कलाकारका लागि राजनीतिमा मुख्य तीनवटा चुनौती छन् विचार र सिद्धान्तको चुनौती, पार्टीभित्रको आन्तरिक संघर्ष र राज्य संयन्त्र र प्रणाली ।
‘कलाकार सबैको साझा हुन्छ, उसले कुनै वाद बोकिरहनु पर्दैन । तर राजनीतिमा लागेपछि एउटा निश्चित विचारमा बाँधिनुपर्छ,’ वली भन्छिन्, ‘हिजोका प्रशंसकहरू विचार नमिल्ने बित्तिकै कट्टर आलोचक बन्छन् । फ्यान फलोइङलाई सीधै भोटमा बदल्छु भन्नु पार्टी राजनीतिमा सोचेजस्तो सजिलो छैन ।’
पार्टीभित्रको आन्तरिक संघर्षमा उनी कलाकारले बाह्य दलसँग मात्र होइन, पार्टीभित्रैका पुराना कार्यकर्तासँग प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्छिन् । ‘विद्यार्थी राजनीति र संगठनबाट दुःख गरेर आएकाहरूले नयाँ आएका कलाकारलाई सजिलै स्वीकार गर्दैनन्,’ उनी थप्छिन्, ‘त्यो आन्तरिक राजनीति झेल्न निकै कठिन हुन्छ, कर्मचारीतन्त्र र राज्य सञ्चालनको आफ्नै पद्धति हुन्छ ।’
उनी राज्य संयन्त्र र प्रणाली बुझाउँछिन्, ‘कोही मान्छे आकाशबाट झर्दैमा वा चन्द्रमाबाट आउँदैमा एक्कासि परिवर्तन हुँदैन । यो एउटा प्रणालीगत क्रिया हो । भावनात्मक कुराले मात्र देश चल्दैन ।’
उनका अनुसार कलाकारको जीवनशैली र गाउँका जनताको धरातलबिच ठुलो खाडल छ । ‘हाम्रो फेसन र अंग्रेजी मिश्रित बोली गाउँका सर्वसाधारणसँग मेल खाँदैन, राजनीतिमा जनताको विश्वास जित्न वर्षौँ भिज्नुपर्छ,’ उनको अनुभव छ ।
व्यक्तिगत स्वार्थ त्यागेर आउनेलाई भने उनी स्वागतयोग्य मान्छिन् ।
तर अभिनेता दीपकराज गिरी भने राजनीतिमा कलाकार होमिनुलाई व्यक्तिगत स्वतन्त्रता र उत्साह मान्छन् । कलाकार राजनीतिमा आउनु स्वाभाविक भए पनि एउटा सफल राजनीतिज्ञ बन्न आवश्यक गुण कलाकारमा कम हुने उनको ठम्याइ छ ।
‘देश बनाउने हुटहुटी हुनु एउटा कुरा हो, तर राजनीतिज्ञ हुन फरक गुण चाहिन्छ,’ उनी भन्छन्, ‘हामी कलाकारहरू स्वभावैले अलि बढी भावनात्मक, संवेदनशील र भावुक हुन्छौँ, तर राजनीतिमा यी गुणहरू कहिलेकाहीँ बैगुन बन्न पुग्छन् ।’
उनका अनुसार राजनीतिज्ञ एकदम ‘धीर’ र आवेगलाई नियन्त्रण गर्न सक्ने हुनुपर्छ । राजनीतिज्ञले आक्रोशको ठाउँमा पनि नम्र हुनुपर्ने धारणा राख्ने उनी कलाकारहरूको चाँडै रियाक्ट गर्ने बानी राजनीतिमा सफल हुन बाधक हुन सक्ने बताउँछन् ।
‘दक्षिण एसियाली इतिहासलाई नियाल्दा कलाकारहरू राजनीतिमा सफल भएको उदाहरण निकै कम छ,’ गिरी थप्छन्, ‘व्यक्तिगत रूपमा सबैलाई राजनीति गर्ने छुट छ, तर म कलाकारहरू सफल हुने कुरामा अलि सशंकित छु । राजनीति भनेको कोरा सपनाजस्तो होइन, यसको कोर्स निकै कठिन छ ।’
पहिलेका को–कति सफल रु
राजनीतिमा कलाकारको सक्रियता पहिल्यैदेखि हो । यसअघि परम्परागत दलहरूबाट आफूलाई राजनीतिमा सक्रिय बनाउने पनि थुप्रै कलाकर्मी छन् । जसमध्ये केहीले सफलता पनि पाएका छन् भने कोही त्यस्सै हराएर गएका छन् ।
सदावहार अभिनेत्रीको छवि बनाएकी मानन्धर डा। बाबुराम भट्टराईको नेतृत्व रहेको ‘नयाँ शक्ति’ पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसबाट केही नभएपछि उनी २०७८ सालमा केपी ओली नेतृत्वको एमाले प्रवेश गरिन् । राजनीतिबाट कुनै उपलब्धि हात नलागेपछि उनी अहिले राजनीतिबाट बाहिर रहेर व्यवसायमा सक्रिय छिन् ।
‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हिमेश पन्त पनि राजनीतिमा सक्रिय छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रत्यक्ष निर्वाचित सांसदको उम्मेदवार बनेका थिए । धादिङ क्षेत्र नम्बर १ बाट उठेका उनी पराजित भए । पहिलो प्रयास असफल भए पनि उनले राजनीति छाडेका छैनन् । अभिनय क्षेत्रमा पनि उनी देखापरिसकेका छन् ।
एक समय एकसेएक हिट फिल्म दिएकी अभिनेत्री रेखा थापाको राजनीतिक करिअर पनि आसलाग्दो रहेन । तत्कालीन समयमा नेकपा माओवादी प्रवेश गरेकी उनी त्यहाँ सफल नभएपछि ‘कमल थापाको विचार मनपर्यो’ भन्दै राप्रपा प्रवेश गरिन् ।
त्यहाँ पनि छाडेर उनी राप्रपाकै अर्का नेता पशुपतिशमशेर राणा समूहतिर ढल्किएकी उनी अहिले भने राजेन्द्र लिङ्देन नजिक मानिन्छिन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी उनी नराम्रोसँग पराजित भइन् ।
‘दासढुंगा’, ‘ग्रेटर नेपाल’जस्ता फिल्मका निर्देशक मनोज पण्डितको राजनीति भविष्य पनि सुखद् छैन । यसअघि काभ्रेपलाञ्चोक–२ बाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनले त्यहाँ निकै कम मत पाए । त्यसपछि भने उनी फेरि फिल्म लेखन र निर्देशनमै व्यस्त छन् ।
राजनीतिमा केही कलाकर्मीहरू भने केही हदसम्म सफल भएका छन् । जसमा उनै वलीको नाम अग्रपंक्तिमै आउँछ । त्यस्तै रोज राणा ९सरोज थापा० र मदुकुमार श्रेष्ठ पनि छन् । राप्रपाबाट राजनीति सुरु गरेकी वली हाल एमालेमा छिन् । एमालेबाट उनी राष्ट्रिय सभा सदस्यसमेत बनिन् । तर ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी गृहजिल्ला दाङ–३ बाटै पराजित भइन् । भर्खरै भएको नेकपा एमालेको ११औँ महाधिवेशनबाट भने उनी केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भइन् । अबको निर्वाचनमा उनी फेरि उम्मेदवार हुने तरखरमा छिन् ।
त्यस्तै अभिनेता, निर्माता र निर्देशकसमेत रहेका राणा र श्रेष्ठ मन्त्रीसम्मको यात्रा तय गर्न सफल भएका छन् । नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय यी दुईमध्ये राणा गत निर्वाचनमा प्युठान प्रदेशसभा ‘२’ बाट विजयी भएका थिए । हाल लुम्बिनी प्रदेश सरकारमा उनी सहरी विकास तथा खानेपानी मन्त्री छन् । यसअघि उनी प्रदेशमै उद्योग, पर्यटन तथा यातायात मन्त्री बनेको थिए ।
श्रेष्ठ भने धादिङ–१ प्रदेश ९२० बाट विजयी भएका थिए । उनी केही समयअघि बागमती प्रदेशको सहकारी तथा गरिबी नियन्त्रण मन्त्रीसमेत बनेका थिए ।








Discussion about this post